लुम्बिनी सरकारको एक वर्ष : संघीय अभ्यासको मोडलको रुपमा उदाएको दावी

1.3K

लुम्बिनी सरकारको एक वर्ष : संघीय अभ्यासको मोडलको रुपमा उदाएको दावी

चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ । यस अवसरमा प्रदेश सरकारले पत्रकार सम्मेलन गरेर उपलब्धि सार्वजनिक गर्यो । सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले गरेका काम र प्राप्त भएका उपलब्धि सहितका ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको हो ।
त्यस अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको दावी गर्नुभयो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भन्नुभयो–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’
चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको उहाँले बताउनु भयो । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताउनु भयो । उहाँले बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गर्न र जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।
संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको छ । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एक बर्षे उपलब्धिहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसै अवसरमा प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री ड्यासवोर्ड उद्घाटन गरिएको छ । मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासवोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।

त्यसैगरी उद्योग पर्यटन तथा यातायात मन्त्रालयले प्रकाशन गरेको अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तवक विमोचन गरिएको छ । उक्त पुस्तक मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको समुद्घाटन गर्नुभयो । मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।