रुपन्देहीको देवदहमा दुना टपरी उद्योग सञ्चालनमा आएको छ । देवदह नगरपालिका वडा नं. ६ केउली स्थित पाल्पाली बन उपभोक्ता समुहका ६ जना उपभोक्ता मिलेर सिडिएम नेपालको प्राविधिक सहयोग तथा कारितास नेपाल र स्पोनोलाको आर्थिक सहयोगमा दुना टपरी उद्योग सञ्चालन गरिएको हो ।
देवदह नगरपालिका वडा नं. ६ स्थित पाल्पाली सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा सञ्चालन गरिएको उक्त दुना टपरी उद्योगको आईतबार देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले समुदायमा आधारित उद्यमशिलता विकास कार्यक्रमका लागि नगरपालिकाले पनि प्राथमिकता दिएको बताउनु भयो । उहाँले स्थानीय बन पैदावारलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर सञ्चालन गरिएको दुना टपरी उद्योगमा सञ्चालकसंगै अन्य स्थानीयलाई पनि अर्थोपार्जनमा जोड्न आग्रह गर्नुभयो । उहाँले आवश्यक परे थप मेसिन खरिदका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले सञ्चालनमा आएको दुना टपरी उद्योग धर्यताका साथ सञ्चालन गर्न सञ्चालकलाई आग्रह गर्नुभयो । उहाँले देवदह नगरपालिकाले नीतिगत रुपमै प्लाष्टिक मुक्त नगरपालिका बनाउने योजना अगाडी बढाएको बताउँदै सञ्चालनमा आएको यो उद्योग प्लाष्टिक मुक्त नगरपालिका बनाउने योजनामा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विपद्को क्षेत्रमा काम गर्दै आएको सिडिएम नेपालले देवदह नगरपालिकासंगको समन्वयमा देवदहको वडा नं. ३ र ६ मा समुदाय उत्थानशिल परियोजना सञ्चालन गरेको छ । विपन्न र विपद्को जेखिममा परेका देवदह ३ र ६ मा स्थानीय बन पैदावारबाट प्राप्न हुने कच्चा पदार्थमा आधारित उद्यम, टनेलमा प्राङ्गारिक नर्सरी तथा तरकारी खेती, प्राङ्गारिक मल उत्पादन लगायतका स्वरोजगार उद्यम तथा जिविकोपार्जनमा २२० जना किसानलाई जोडिएको सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी गराउनु भयो ।
उहाँका अनुसार सिडिएम नेपालले समुदाय उत्थानशिल परियोजना, सुपर २ र अर्वान डि आर आर गरी ३ वटा परियोजना सञ्चालन गरेको छ । त्यसमध्ये अर्वान डि आर आर परियोजना लुम्बिनी प्रदेश सरकारसंगको समन्वयमा सञ्चालन गरिएको छ भने सुपर २ नेपालगञ्ज उपमहानगरपालिका र समुदाय उत्थानशिल परियोजना रुपन्देही जिल्लाका देवदह नगरपालिका सहित मर्चवारी, सम्मरीमायी, सुद्धोदन र सियारी गाउँपालिकामा सञ्चालन गरिएको परियोजना संयोजक सुजन घिमिरेले जानकारी गराउनु भयो ।

त्यसै अनुसार देवदहको वडा नं. ६ मा स्थापना गरिएको दुना टपरी उद्योगमा सिडिएम नेपालले प्राविधिक सहयोग गरेको हो भने दुना टपरी बनाउने मेसिन खरिदका लागि कारितास नेपाल र स्पोनोलाले २ लाख ३० हजार रुपैंया आर्थिक सहयोग गरेको सिडिएम नेपालकी लेखा तथा प्रशासन प्रमुख लेखा भट्टराईले जानकारी गराउनु भयो ।
देवदह नगरपालिका वडा नं. ६ का अध्यक्ष खेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य रुपा ढुंगाना, देवदह नगरपालिका विपद् तथा वातावरण शाखा प्रमुख रवि पाण्डे, पाल्पाली समुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सरोज थापा, मखमली कृषक समुहका अध्यक्ष लक्ष्मण राना, सरल यन्त्र बुटवलका सञ्चालक कृष्ण पन्थी, सिडिएम नेपालकी सामाजिक परिचालक वविता भुसाल लगायतले सञ्चालनमा आएको उद्योगको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।