लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गर्नु भएकाे छ । प्रदेश सभा सदस्य पाण्डेलाई मुख्यमन्त्री आचार्यले आइतबार प्रदेशकाे युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएकाे हाे ।
उहाँको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ ।
प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला लोसपा एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो ।
तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता हुनुहुन्छ । ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्यले नै सम्हाल्नु भएकाे थियाे । वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए ।