रुपन्देहीमा अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा बृद्धि भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा रुपन्देहीबाट १ खर्ब २० अर्ब ६९ करोड ८८ लाख ४६ हजार ८ सय २६ रुपैयाँ ६७ पैसा राजस्व आम्दानी भएको देखिएको छ ।
त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा १ खर्ब ४ अर्ब ८१ करोड ३८ लाख १० हजार ६ सय ९४ रुपैयाँ ८७ पैसा राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष २०७९–०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँ ६३ पैसा राजस्व संकलन भएको थियो ।
रुपन्देहीमा सबैभन्दा बढी भैरहवा भन्सार कार्यालयले ९५ अर्ब १९ करोड, आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब ९८ करोड र आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६३ करोड रुपैंया राजश्व संकलन गरेका छन् ।
सबैभन्दा बढी राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न भने सकेन । आर्थिक वर्ष २०८१÷०८२ का लागि भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएको थियो । कार्यालयले लक्ष्यको ८७.०७ प्रतिशत राजश्व संकलन गरेको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार अघिल्लो वर्षको भन्दा धेरै राजश्व संकलन भएको छ । वेलहीया नाकाबाट हुने आयात खुम्चिँदा भन्सार कार्यालयले राजश्वको लक्ष्य पुरा गर्न नसकिएको पनि उहाँले बताउनु भएको छ । कार्यालयको तथ्यांक अनुसार व्यापार घाटा भने कम भएको छ ।
गत आर्थिक वर्ष २०८१–०८२ मा २ खर्ब ६३ अर्ब ८२ करोड मूल्यका विभिन्न सामान आयात हुँदा २० अर्ब ९२ करोडको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.९९ प्रतिशत निर्यातमा वृद्धि हुँदा व्यापार घाटा कम भएको हो । बजेट निर्माणमा बजेटको आकार बढ्दा लक्ष्य पनि बढाएर बनाइन्छ ।
चालु आर्थिक वर्ष २०८२।८३ को लागि भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब १३ अर्बको लक्ष्य निर्धारण गरिदिएको छ । लक्ष्यमै पुग्न नसकेको भैरहवा भन्सारलाई भन्सार विभागले अघिल्लो आर्थिक वर्षको भन्दा लक्ष्य बढाईदिएको छ ।