लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ को रिजन ६ अन्तर्गतका ५ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम गरिएको छ । बुटवलमा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवल संसार, एलसी क्लब अफ फुलबारी, एलसी बुटवल तिलोत्तमा, एलसी तिलोत्तमा मायादेवी, एलसी तिलोत्तमा बुद्धज्योति क्लबहरूको संयुक्त पदस्थापन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लबहरू समाजमा परिवर्तन ल्याउने महत्वपूर्ण संयन्त्र भएको बताउनु भयो । लायन्स ईन्टरनेश्नलको ‘खुशी मन, सहयोगी हातहरु’ भन्ने मुल नारासहित सामाजिक कार्यमा अग्रसर रहेको क्लबहरु सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र सिग्नेचर प्रोजेक्टमार्फत स्थायी परियोजनाहरू संचालन गर्ने प्रतिबद्धता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सिग्नेचर प्रोजेक्ट अन्तरगत एलसी बुटवल संसारले उज्यालो शिक्षा अभियानमा काम गर्दै आएको छ भने यो वर्ष मानसिक स्वास्थ्य सचेतनाको क्षेत्रमा काम गर्ने क्लबका अध्यक्ष गोबिन्द पाण्डेले बताउनु भयो । एलसी तिलोत्तमा र तिलोत्तमा मायादेवीले निरन्तर पाठेघरको मुखको क्यान्सर र वातावरण सरोकारका कार्यक्रम चलाउने क्लबका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताउनु भयो ।


यसैगरि एलसी बुद्धज्योति क्लबले गो ग्रिन परियोजनाअन्तर्गत ३० लाख लागतमा दुई वटा पार्क निर्माण गरिएको र एलसी फुलबारीले बाल स्वास्थ्यमा केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले पछिल्लो वर्ष नेपालमै २४ भन्दा बढी नयाँ क्लब गठन गरिसकेको र २ लाख ५० हजार सदस्य थपिएको जानकारी दिनुभयो । उहाँले बुटवलमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्ने योजना अघि बढाईएको पनि बताउनु भयो ।
त्यस्तै पूर्व डिष्ट्रिक गभर्नर अर्जुनमान सैजूले लायन्स सेवा भावनाको उदाहरण भएको बताउँदै लायन्सलाई “नेपाली नागरिकबाट अन्तर्राष्ट्रिय योगदान दिने प्लेटफर्म”को रूपमा परिभाषित गर्नुभयो ।
कार्यक्रममा एरिया चिफ कोर्डिनेटर कृष्णप्रसाद पाण्डे, रिजन चेयरपर्सन नविनप्रसाद श्रेष्ठ, जोन चेयरपर्सन देवबहादुर कुँवर र धिरजमान श्रेष्ठले क्लबहरुबाट प्रस्तुत गरिएका योजनाहरू आपसमा सहकार्य गरेर अघि बढाउन सुझाव दिनुभएको थियो ।