झण्डै साढे १७ अर्बको बिजुली निर्यात

1.3K

झण्डै साढे १७ अर्बको बिजुली निर्यात

नेपालले गएको आर्थिक वर्षमा झण्डै साढे १७ अर्बको बिद्युत निर्यात गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा भारत र बंगलादेशमा गरेर १७ अर्ब ४५ करोड ९९ लाख रुपैंया बराबरको बिद्युत निर्यात गरेको हो ।

भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । गएको वर्ष नै भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो । बंगलादेशमा भने उक्त आर्थिक वर्षसम्म विद्युत निर्यात भएको थिएन । त्यसै वर्ष भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा भारतमा २ अर्ब ३४ करोड ९९ लाख ८६ हजार ९ सय ५५ र बंगलादेशमा ३ करोड ३ लाख ९ हजार ७ सय ६० किलोवाट–आवर बिजुली निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ ।