मनसुनकाे न्यूनचापिय रेखा नेपालकाे तराईमा : तर कमजाेर प्रभाव

1.3K

मनसुनकाे न्यूनचापिय रेखा नेपालकाे तराईमा : तर कमजाेर प्रभाव

मनसुनको न्यून चापीय रेखा नेपालको तराईमा रहेपनि अघिल्ला दिनकाे तुलनामा यसकाे प्रभाव भने कमजाेर देखिएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाे जल तथा माैषम विज्ञान विभाग, माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको हाे । नेपालमा आउने मनसुनका एउटा अरेबियन सागरबाट आउने र अर्को बंगालको खाडीबाट आउने दुईवटा ब्रान्च हुन्छन् । माैषमविद्हरुका अनुसार हिजो अँस्तिसम्म अरेवियन सागरतिरबाट मजाले जलवाष्पयुक्त हावा आइरहेको थियो, मोइस्चर पनि प्रशस्त थियो । अहिले त्यताबाट जलवाष्पयुक्त हावा नआएकाले वर्षा अलिकति कम भएको हो ।
सामान्यतया मनसुनको न्यूनचापीय रेखा जहाँ अवस्थित हुन्छ, त्यहाँ धेरै पानी पर्छ । तर जलवाष्प कम भएकाले तराई क्षेत्रमा मध्यमखालको मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज बिहिबार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ । त्यस्तै राती देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।