संविधान विपरीत अनलाइन दर्ता प्रणाली : पत्रकार महासंघको गम्भीर आपत्ति

1.3K

संविधान विपरीत अनलाइन दर्ता प्रणाली : पत्रकार महासंघको गम्भीर आपत्ति

नेपाल पत्रकार महासंघले सरकारले अगाडि बढाएको अनलाइन समाचारमाध्यम दर्ता, नविकरण तथा नियमनको नयाँ कार्यविधिमा गम्भीर आपत्ति जनाएको छ । महासंघले यस प्रणालीलाई पत्रकारिता स्वतन्त्रतामाथि प्रहार भन्दै तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
महासंघका अनुसार सूचना तथा प्रसारण विभागले तयार पारेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीमार्फत अनलाइन सञ्चारमाध्यम दर्ता, नविकरण र नियमन गर्ने व्यवस्था संविधान तथा प्रेस स्वतन्त्रता विपरीत रहेको बताएको छ । “प्रशासनिक नियन्त्रणको नाममा पत्रकारिता थुनिने, वाक स्वतन्त्रतामाथि अंकुश लगाइने प्रयास अस्वीकार्य छ,” महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा अहिलेको डिजिटल युगमा यस्तो विधि न त व्यावहारिक छ, न आवश्यक। बरु यसले पत्रकार र सञ्चारमाध्यमलाई थप अन्योलमा पार्ने उल्लेख गरिएको छ ।
महासंघले स्पष्ट पारेको छ – सञ्चारमाध्यम सम्बन्धी व्यवस्था सूचना तथा प्रसारण मन्त्रालयबाटै हुनु पर्ने हो, न कि जिल्ला प्रशासन कार्यालयबाट । पत्रकारिता स्वतन्त्रता सुनिश्चित गर्न सरकारसँग तत्काल सम्बन्धित कार्यविधि फिर्ता लिने र सरोकारवाला पक्षसँग समन्वय गरेर नयाँ नीति निर्माण गर्न जोडदार माग गरिएको छ । महासंघले यस्तो असंवैधानिक, आत्मघाती निर्णयप्रति सरकार गम्भीर नभए पत्रकारिता क्षेत्रबाट आन्दोलन चर्किने चेतावनीसमेत दिएको छ ।