बुद्ध सामुदायिक टेलिभिजनले १७ औं वार्षिकोत्सव मनाएको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित टेलिभिजन ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । बुटवल चौराहा स्थित टेलिभिजन प्रमाङ्गणमा शनिबार कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा टेलिभिजनका सल्लाहकार तथा लुम्बिनी प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले मोफसलमा रहेर १७ बर्षसम्म अनवरत रूपमा टेलिभिजन सञ्चालन गर्नु आफैमा महत्वपुर्ण भएको भन्दै गैर नाफामुलक सामुदायिक सञ्चार माध्यमलाई राज्यले सहयोग गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय मिडियाहरूले राज्यको मिडियालाई हेर्ने दृष्टिकोण उदार नभएको अनुभूति भएको बताउँदै उहाँले राज्य मिडियामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले बार्षिकोत्सवको अवसरमा शुभकामना दिदै टेलिभिजनलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने दर्शक, विज्ञापनदाता, सञ्चालक समिति, पत्रकार तथा कर्मचारीप्रति आभार ब्यक्त गर्नुभयोे ।
टेलिभिजनका उपाध्यक्ष समेत रहनुभएका राष्ट्रिय टेलिभिजन प्रसाण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले समुदाय स्तरबाट सञ्चालित सामुदायिक टेलिभिजनलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले आगामी दिनमा टेलिभिजनका कार्यक्रम तथा समाचारलाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्वता ब्यक्त गर्नुभयोे । सो अवसरमा कार्यक्रममा ज्योतिष चेतनारायण सुवेदीले कृष्ण जन्माष्टमी पर्वको बारेमा प्रकाश पार्नुभएको थियो ।