मनसुनी रेखा सरदर स्थानमा : पश्चिमी भू-भागमा भारी वर्षाकाे सम्भावना

1.3K

मनसुनी रेखा सरदर स्थानमा : पश्चिमी भू-भागमा भारी वर्षाकाे सम्भावना

लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ ।
जल तथा माैषम विज्ञान विभाग, माैषम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव पनि केही बढेको छ ।
जसका कारण बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पनि जनाएकाे छ ।
त्यसैगरी राती देशभर साधारणतया बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशकाे तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।