नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको बताउनु भएको छ । जनतामा देखिएको निराशा हटाउन र सुशासन दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको उल्लेख गर्दै उहाँले घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताउनु भयो ।
सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताउनु भयो ।
‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ उहाँले भन्नुभयो–‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब धु्रविकरण जरुरी छ ।’ उहाँले वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएको बताउँदै वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताउनु भयो ।

उहाँले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्मा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानोले काम नगरेको तर नयाँ नबसिकेको औंल्याउँदै अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताउनु भयो । माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाईते भएको बताउँदै उहाँले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको प्रष्ट्याउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेका कम्यूनिष्ट पार्टीहरुले जनताको मुद्धा नउठाएकाले अब वाम पार्टीहरुविच पुनर्गठन हुनुपर्ने आवश्यकता औल्याउनु भयो । शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरुको टिम बनाउन नसकेको पनि उल्लेख गर्नुभयो ।