प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तरगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस लिमिटेडलगायतका कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आज एक कार्यक्रमकाबीच केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्गसम्झौता गरेको छ ।
उक्त क्रेडिट रेटिङ्गसम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले र केयर रेटिङ्ग नेपाल लिमिटेडको तर्फबाट कम्पनीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएकाे छ ।
आईपिओ निष्कासन गर्ने सम्बन्धमा आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्ने तयारी स्वरुप प्रभु केवलकारले क्रेडिट रेटिङ्गसम्झौता गरेको हो । यो सम्झौता सँगै अब प्रभु केवलकारले दुई (२) महिना भित्र आफ्नो क्रेडिट रेटिङ्गसम्झौता सम्पन्न गरि धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनको लागी आवेदन दिनेछ ।
प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । बुटवल स्थित भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत २०८१ साल भाद्र देखि व्यवसायिक सञ्चालनमा आईसकेकोछ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।
त्यस्तै प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । केवलकार परियोजना निर्माणमा कृयाशिल यस कम्पनीको आईपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेकोछ भने यो कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित कम्पनी रहेको छ । कम्पनीले आईपिओबाट आउने सम्पूर्ण रकम ईच्छाकामना केवलकार र बडीमालिका केवलकार निर्माण गर्न खर्च गर्ने तयारी गरेको छ ।