आज आईतबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्ने पूर्वानुमान गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाे र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेका कारण वर्षा गतिविधि तीव्र हुन सक्ने देखिएको माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
राति पनि देशभर सामान्यतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी तथा तराईका थोरै स्थानमा वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।