बुटवलको देविनगर रंगशालामा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला २०८२’ आयोजना हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको मुख्य आयोजनामा आगामी भदौ २५ गतेदेखि असोज १२ गतेसम्म याे मेला गर्न लागेकाे हाे ।
मेला आयाेजक रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षण रहने बताउनु भयाे । उहाँका अनुसार मेलामा मनोरञ्जनसँगै धार्मिक र सांस्कृतिक पक्षलाई समेत जोडिएको छ । वैष्णाेदेवी मन्दिर दर्शन, विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य प्रतियोगिता, टिकटक प्रतिस्पर्धा लगायतका विविध कार्यक्रम रहने उहाँले बताउनु भयाे ।
अध्यक्ष भण्डारीका अनुसार सामाजिक सेवामा स्थापित क्लवले आयाेजना गरेकाे मेलाबाट आर्जित आम्दानी पनि सामाजिक सेवामै खर्चिने छ ।
हालसम्म २ सय स्टल बुक भइसकेको र थप स्टल व्यवस्थापन गर्ने तयारी भइरहेको पनि अध्यक्ष भण्डारीले बताउनु भयाे । मेलामा व्यापारिक स्टल, खानेकुरादेखि मनोरञ्जन र स्थानीय उत्पादनसमेत राखिने भएकाले यसले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
मेलामा प्रवेश गर्नका लागि साधारण दर्शकलाई ५० रुपैयाँ टिकट दर तोकिएको छ भने विद्यार्थीले परिचयपत्र देखाएमा ४० रुपैयाँमा प्रवेश पाउने व्यवस्था गरिएको छ । त्यस्तै ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, असक्त तथा अपाङ्ग व्यक्तिलाई भने निःशुल्क प्रवेश गराइने सचिव शंकर काफ्लेले जानकारी दिनुभयाे ।
मेलामा राष्ट्रियस्तरका कलाकारहरुदेखि स्थानीय प्रतिभासम्मले आफ्नो प्रस्तुति दिनेछन् । सांगीतिक, नृत्यात्मक र सांस्कृतिक प्रस्तुतिबाट मेलाको माहोललाई अझै रंगीन बनाइने आयोजकले जनाएका छन् ।
मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका र वडा नम्बर ११ मेलाको सहआयोजक रहेको छ । यसरी स्थानीय सरकारको समेत सहकार्यमा आयोजना हुने मेलाले बुटवलको सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई सुदृढ पार्ने आयाेजकले विश्वास गरेका छन् ।