चिन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जानू भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लाग्नुभएकाे हा ।
भ्रमणमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा र चिनियाँ उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गर्नुभयाे । उहाँले सांघाई सहयोग संगठन (एससिओ)काे शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिनु भएकाे थियाे । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । याे संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् । त्यस्तै अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू हुन् ।
शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गर्नुभएकाे थियाे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब २५ मिनेट भएको भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिनुभएकाे थियाे ।
त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र माेदी, मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएकाे थियाे ।
प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए ।