सुजन न्यौपाने /
लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा फोटोग्राफरलाई ‘पावर अफ एआई’ सहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम प्रदान गरिएकाे छ ।
फोटोग्राफरहरुलाई डिजिटल प्रविधिमा अझ दक्ष बनाउन, विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम तुल्याउन तथा फोटोग्राफी व्यवसायलाई अझ व्यावसायिक र सम्मानित बनाउने उदेश्य सहित रुपन्देहीको बुटवलमा गरिएको तालिममा ७० जना फोटोग्राफरहरु सहभागी थिए । आयाेजकका अनुसार यसलाई फोटोग्राफी क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । लुम्बिनी फोटोग्राफर सघंका महासचिव त्रिभुवन पाण्डेका अनुसार पछिल्ला दशकमा विवाह, व्रतबन्ध, जन्मोत्सव, संस्कृतिका विविध क्रियाकलाप, राजनैतिक सभा समारोहदेखि सामाजिक गतिविधिसम्म फोटो खिच्ने र तिनलाई डिजिटल एडिटिङमार्फत स्मरणीय बनाउनुपर्ने प्रचलन बढेको छ । डिजिटल क्यामेरा, ड्रोन फोटोग्राफी, तथा आधुनिक एडिटिङ सफ्टवेरको प्रयोगले फोटोग्राफीलाई केवल ‘तस्बिर खिच्ने काम’ मात्र नभई एउटा कला र जीवन्त स्मृतिको अभिलेख बनाउन सफल भएको छ ।
तालिमका प्रशिक्षकका रुपमा एडभान्स फोटो एडिटिङमा विशेष दक्षता हासिल गरेका एडव सर्टिफाइड प्रशिक्षक के गणेशले दुई दिनसम्म निरन्तर प्रशिक्षण दिनुभएकाे थियाे । त्यस्तै एआई प्रयोगमार्फत फोटो एडिटिङमा हुने नवीनतम सम्भावनाहरू, कार्यविधिहरू र अन्तर्राष्ट्रिय प्रवृत्तिहरूबारे जानकारी दिनुभयो । सहभागीहरूले प्रस्तुत सामग्रीलाई अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताएका छन् ।
तालिमका संयोजक माेहन महतोले सहभागीहरुलाई प्राप्त ज्ञानलाई आफ्ना दैनिकीमा प्रयोग गर्न र आवश्यकता परेमा प्रशिक्षकहरूसँग निरन्तर सम्पर्कमा रहन सकिने व्यवस्था मिलाइने जानकारी दिनुभयो । उहाँका अनुसार, फोटोग्राफी मात्र एउटा सीप नभई नेपालमा उद्यमशीलता, रोजगारी सिर्जना र प्रविधिसँगै तालमेल मिलाउने माध्यम पनि हो ।
तालिमका समापनमा नेपाल फोटोग्राफर महासघंका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले फोटोग्राफरहरुलाई अबको युगमा एआई जस्ता प्रविधिबाट टाढा रहन नसकिने भन्दै, यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले फोटोग्राफरहरुले प्रविधिसँगै सिर्जनात्मकतालाई पनि उस्तै महत्व दिनुपर्ने बताउँदै नेपालको सांस्कृतिक सम्पदा, धार्मिक स्थल र सामाजिक विविधतालाई फोटोमार्फत विश्वभर पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी फोटोग्राफर सघंका अध्यक्ष दिनेश अर्यालले नेपालमा फोटोग्राफीको स्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यस्ता तालिम आवश्यक रहेको बताउँदै आवश्यकता पूर्तिका लागि तालिम गरिएकाे बताउनु भयाे ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासघंका केन्द्रीय सदस्यहरू, नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेकाे थियाे
लुम्बिनी फोटोग्राफर सघंका उपाध्यक्ष रामप्रसाद भण्डारीले नेपालमा फोटोग्राफी व्यवसाय अझै व्यावसायिक बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक माधव पन्थका अनुसार तालिममा सहभागी फोटोग्राफरहरूले एआई प्रविधिको प्रयोग, रंग मिलाउने तरिका, छायाचित्रलाई प्राकृतिक रूपमै सुदृढ बनाउने तरिका, विवाह तथा सामाजिक कार्यक्रमका तस्बिरलाई अझ आकर्षक बनाउन सकिने विधिहरू सिकेको बताएका थिए ।