बुटवल जेसीजद्वारा जेनजी आन्दोलनका घटनाप्रति दु:ख व्यक्त

1.3K

बुटवल जेसीजद्वारा जेनजी आन्दोलनका घटनाप्रति दु:ख व्यक्त

जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाप्रति बुटवल जेसीज स्तब्ध भएको जनाएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संस्थाका अध्यक्ष मोहन न्यौपानेले साेमबार साँझ जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा नागरिकको स्वतन्त्र अभिव्यक्ति अधिकार सर्वोपरि हुने उल्लेख गर्दै त्यसलाई विधिको दायराभित्र रहेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभएकाे छ । साथै, राज्य संयन्त्रले समेत नागरिकको आवाज सुन्ने र संवादमार्फत सम्बोधन गर्ने संवेदनशीलता देखाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
“बुटवल जेसीज विधिको शासनको पक्षमा उभिएको संस्था हो । हामी युवाहरूलाई संयमित, तथ्यपरक र समाधानमुखी आवाज उठाउन प्रोत्साहित गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । जेसीजले युवाहरूको ऊर्जा, प्रविधिप्रतिको पहुँच र सामाजिक उत्तरदायित्व नै समावेशी र दिगो लोकतन्त्रको आधार हुने विश्वास व्यक्त गर्दै सरकार, नागरिक समाज र सम्पूर्ण युवाहरूसँग संयोजन गरी संवाद, सहमति र सहकार्यमार्फत अघि बढ्न आह्वान गरेको छ ।