बुटवलमा जेन-जी आन्दोलन जारी : निरन्तर प्रदर्शन

1.3K

बुटवलमा जेन-जी आन्दोलन जारी : निरन्तर प्रदर्शन

जेन-जी पुस्ताको आन्दोलन आज पनि बुटवलमा बिहानैदेखि जारी छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीहरुले राजमार्ग र चोकचोकमा प्रदर्शन तीव्र पारेका छन् । अविरल वर्षा र प्रशासनको चेतावनीलाई अटेर गर्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।
प्रदर्शनको क्रममा बुटवलका मुख्य चोकहरूमा टायर बालिएको छ । राजमार्ग चौराहाबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भएको छ ।
प्रदर्शनका क्रममा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्मा निवासमा तोडफोड गरिएको छ । यद्यपि अन्य स्थानहरूमा अवस्था हालसम्म सामान्य रहेको सुरक्षा निकायले जनाएको छ ।

स्थानीय व्यापार व्यवसाय पूर्ण रूपमा ठप्प छन् । सडक सुनसान देखिन्छ, पसलहरू बन्द छन् । विद्यालयहरू पनि स्थानीय सरकारको निर्णय अनुसार बन्द गरिएको छ ।
अहिले पनि बुटवलमा अविरल वर्षा भइरहेको छ, तर त्यसले आन्दोलनको तापलाई कम गर्न सकेको छैन । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा यथावत् छ ।
प्रदर्शनमा सहभागी जेन–जी पुस्ताका युवाहरूले तीन दशकदेखि सत्तामा रहेका उही नेताहरूको विरुद्ध आवाज उठाएको दाबी गरेका छन् । उनीहरूको मुख्य माग भनेको सत्ता संरचनामा पुस्ता परिवर्तन, पारदर्शिता र समानताको व्यवहारिक कार्यान्वयन हो ।
साेबारदेखि सुरु भएको यो आन्दोलनले मुलुकका विभिन्न भागमा असर पारेको छ । जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलन अहिले चरणबद्ध रूपमा फैलँदै गएको छ । आन्दोलनको क्रममा धेरै स्थानमा हिंसा र मानवीय क्षति पनि भएको भन्दै नागरिक समाजले गहिरो चिन्ता व्यक्त गरिरहेको छ ।