राष्ट्रपति रामचन्द्र पौडेलज्यूले मुलुकको हालको संवेदनशील परिस्थितिमा समग्र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विभिन्न पक्षहरूसँग सल्लाह–विमर्श जारी रहेको बताउनु भएको छ ।
उहाँले आन्दोलनरत नागरिकहरूको मागप्रति गम्भीर चासो व्यक्त गर्दै, समस्या समाधानका लागि संवैधानिक दायराभित्र रहेर यथाशक्य चाँडो मार्ग खोज्ने प्रयास भइरहेको उल्लेख गर्नुभएको छ ।
“म वर्तमान परिस्थितिको समाधानका लागि निरन्तर सल्लाह–विमर्शमा छु । सबै पक्षले संयम र जिम्मेवारीका साथ अघि बढ्न जरुरी छ,” राष्ट्रपतिज्यूले भन्नुभएको छ ।
उहाँले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै, शान्ति, स्थायित्व र विधिको शासन कायम गर्न सबै सरोकारवालाहरू—सरकार, राजनीतिक दल, नागरिक समाज, र आम जनता-बीच आपसी समझदारी अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिज्यूको अपिल छ- “संबैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक छ । राष्ट्रको हितमा संयम, धैर्य र संवादको संस्कृति अबको प्रमुख आवश्यकता हो ।”