नेपालमा अझै २ तीन दिन वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ । यसैका कारण बादल बढ्ने क्रममा रहेको र रातिदेखि वर्षाको गतिविधि पनि बढेको छ । गएराती कोशी र विहान लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैगरी आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ । यदि मनसुनको न्यून चापीय रेखा नेपाल नजकि आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् ।