जेन–जी समुहका युवा विद्यार्थीको आन्दोलनमा सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत तोडफोड आगजनी लगायतका अवान्छित गतिविधि गर्नेलाई कारवाही गरिने बताउँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले त्यस्तो कार्यमा संलग्न रहेको प्रमाण हुने फोटो, भिडियो वा अन्य जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।
आन्दोलनका क्रममा रुपन्देहीमा समेत सरकारी तथा निजी कार्यालय, पार्टी कार्यालय, उद्योग, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था, कलकारखाना, पसल, भवन र सवारी साधनमा तोडफोड तथा लुटपाटजस्ता गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले आईतबार जारी गरेको सूचनामा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइने उल्लेख गर्दै तोडफोड वा अन्य अवाञ्छित घटनाको प्रमाण हुने फोटो, भिडियो वा जानकारी प्रहरी वा प्रशासन कार्यालयमा उपलब्ध गराउन आम नागरिकलाई आग्रह गरिएको छ ।
यस्तै, विद्यालय सञ्चालनदेखि सार्वजनिक सेवासम्ममा कुनै अवरोध भए तत्काल सूचना उपलब्ध गराउन पनि प्रशासनले सरोकारवालालाई अनुरोध गरेको छ ।