जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंको समयमा पनि मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ । विभागले जारी दशैं विशेष मौसम बुलेटिन” अनुसार बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको मध्य भू-भागतर्फ सर्दै गएको छ । जसको प्रभाव नेपालमा पर्ने देखिएको छ ।
यसका कारण दशैं अवधिभर विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
माैषम पूर्वानुमान महाशाखाका अनुसार असोज १६ गते दशैंकाे दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही भागमा हल्का देखि मध्यम वर्षा हुने अनुमान छ । मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि पानी पर्न सक्छ ।
असोज १७ गते एकादशीकाे दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने विभागले जनाएको छ ।
असोज १८ गते द्वादशीकाे दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण छ । यी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते त्रयोदशी दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक वर्षा हुने देखिन्छ । ती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा पनि हुनसक्ने प्रक्षेपण गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी असोज १८ र १९ गते वर्षा तीव्र हुने भएकाले नदी, खोलानाला र भिरालो क्षेत्र वरपर सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।