नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी, आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आजकाे दिन दुर्गा भवानीलाई विधिपूर्वक विसर्जन गरी मान्यजनबाट प्रसादस्वरूप टीका, जमरा र फूलप्रसादसहित आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साईतअनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा रहेकाे छ । सो साईतदेखि दिनभरै टिका–जमरा ग्रहण गर्न सकिनेछ ।
टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार, अक्टोबर २ मा भारतमा ११: ४९, अमेरिकामा अक्टोबर १ मा न्युयोर्कमा ११: २५, फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३ र क्यालिफोर्नियामा ११:११ रहेको छ । त्यस्तै क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा बिहान ११: ३३ मा रहेको छ । त्यसैगरी अष्ट्रेलियाको सिड्निमा अक्टोबर २ को बिहान ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सकिनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
धार्मिक मान्यताअनुसार, यही दिन दुर्गा भवानीले महिषासुरमाथि विजय हासिल गर्नुभयो भने भगवान् रामले रावणको वध गरी धर्म र न्यायको स्थापना गर्नुभयो । त्यसैले सत्यको असत्यमाथि विजयका प्रतीकका रूपमा आजको दिनलाई विजया दशमी भनिन्छ ।
धर्मशास्त्रविद्हरूका अनुसार टीका ग्रहण गर्नु अघि दुर्गा देवीलाई विधिपूर्वक विसर्जन गर्नुपर्छ । देवी विसर्जन गर्दा दायाँपट्टि जया देवी र बाँया पट्टि विजयादेवीसहित नवग्रह र कुलदेवताका पनि पूजा गर्ने परम्परा छ ।
बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ । तर याे वर्ष प्रधानमन्त्री सुशिला कार्कीले दशैंकाे टीका नलगाउने निर्णय लिनुभएकाे छ ।
टिका लगाउँदा पुरुष र महिलाका लागि छुट्टाछुट्टै मन्त्रोच्चारण गरिन्छ । यसरी विधिपूर्वक टिका, जमरा र आशीर्वाद ग्रहण गर्दा आयु र आरोग्य वृद्धि हुने, रोग–व्याधि नष्ट हुने र सुख–शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।