बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसा हुँदै मध्यक्षेत्रतर्फ प्रवेश गरेसँगै नेपालमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ गतेदेखि २० गतेसम्म विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनजन्य गतिविधि तीव्र हुने सम्भावना रहेको छ ।
विभागले नारायणी, बागमती, कमला र कोशी नदी लगायत सहायक नदी–नालामा जलस्तर बढ्ने, केही ठाउँमा आकस्मिक बाढीको जोखिम रहने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुली, मकवानपुर, चितवन, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका स्थानमा आकस्मिक बाढी–पहिरोको जोखिम उच्च रहेको जनाइएको छ ।
यस्तै, असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता आवश्यक पर्ने बताउँदै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । साथै, सडक तथा हवाई यातायात, कृषि, जलविद्युत्, निर्माणाधीन संरचना, साना ठूला नदी आसपासका बस्तीहरू उच्च जोखिममा पर्ने भएकाले आवश्यक तयारी गर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।
