लगातारको अविरल वर्षासँगै उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार राजमार्गहरूमा पहिरो खसेर यातायात अवरुद्ध भएका र मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन अझै वर्षा जारी रहने चेतावनी जारी गरेपछि सरकारले आकस्मिक रूपमा बिदा दिने निर्णय गरेको हो ।
यसअघि सरकारी कार्यालयहरू भोलि आईतबारदेखि खुल्ने तय भए पनि सुरक्षात्मक दृष्टिले थप दुई दिन बिदा बढाइएको हो ।
गृह मन्त्रालयमा आज देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भएको बैठकमा पछिल्लो मौसम र जनसुरक्षा अवस्थाबारे विस्तृत छलफल गरिएको छ । बैठकले उच्च जोखिमयुक्त बस्तीहरूमा आवश्यक सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाली सेनाका उद्धार टोलीहरूलाई आकस्मिक उद्धार र राहतका लागि तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले नागरिकलाई सम्भावित जोखिमबाट सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न समेत आग्रह गरेको छ ।
