वर्षाको प्रभाव क्रमशः घट्दै जान थालेको छ । सोमबारदेखि मौसम सुधारको क्रम सुरु भई मंगलबारपछि देशभर सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ ।
नेपालमा शुक्रबारदेखि जारी अविरल वर्षा अब क्रमशः घट्दै जाने सम्भावना देखिएको हाे । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको बुलेटिनअनुसार देशको मौसम क्रमशः स्थिर हुँदै जाने संकेत देखिए पनि अझै केही प्रदेशहरूमा मेघगर्जन र हल्का देखि मध्यम वर्षा जारी रहनेछ ।
आज आइतबार राति कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भागहरूमा आकाश साधारणतया बदली रहनेछ । यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुने सम्भावना छ । तर बाँकी भूभागमा आंशिक बदली मात्र रहने भएकाले पछिल्ला दुई दिनको तुलनामा मौसम केही सुधार हुने विभागले जनाएको छ । साेमबारदेखि भने वर्षा क्रमश: घट्दै जानेछ ।
भाेली दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने भए पनि रातीतिर धेरैजसो स्थानमा आंशिक बदली मात्र रहनेछ ।
महाशाखाका अनुसार, मंगलबारतिर देशको अधिकांश भूभागमा मौसम सफा हुँदै जानेछ ।
मंगलबार (असोज २१) का दिन दिउँसो केही स्थानमा हल्का वर्षा भए पनि रातीतिर अधिकांश भूभागमा आकाश खुल्ने देखिएको छ । विशेष गरी गण्डकी र कर्णालीका पहाडी भागमा मात्रै हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसपछि देशभर सामान्यतया सफा र स्थिर मौसम रहने विभागको अनुमान छ ।
हालका वर्षाले पहाडी र तराई क्षेत्रका नदी–नाला र सडक सञ्जालमा असर पुर्याएका कारण विभागले अझै केही दिन सतर्कता अपनाउन सुझाव दिएको छ ।
विशेष गरी कोशी र मधेश प्रदेशका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना भएकाले भूस्खलन, पहिरो वा जलमग्नताको जोखिमबाट जोगिन सावधानी अपनाउन अनुरोध गरिएको छ ।