ट्रंक लाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणले रुपन्देहीका दश वटा उद्योगको लाइन काटिदिएको छ । केही वर्षदेखिको ट्रंकलाइन महसुल विवादका कारण बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको हो ।
विद्युत प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटिदिएको हो । उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् खपत गर्नका लागि कुनै माग नै नगरेको, प्राधिकरणसँग कुनै सहमति तथा सम्झौता पनि नभएको बताउँदै उक्त विद्युत महशुल तिर्न अस्वीकार गर्दै आएका छन् ।
चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा चारवर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउंदा आफूहरु अन्यायमा परेको भन्दै उद्योगीहरुले माग र खपत गरेको प्रमाण माग्दै आएका थिए । आफ्नो भार मिलान गर्दा प्राधिकरण आफैले उद्योगीले माग नै नगरेको अवस्थामा केही उद्योगहरु ट्रंक लाइनमा परेको बताएको थियो ।
आन्तरिक लोड मिलानका कारण ट्रंक लाइनमा परिवर्तन गरिएको हुँदा ती उद्योगलाई प्रिमियम दरमा होइन, सामान्य दरमै महसुल लगाउनुपर्ने राय स्वयं नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख उमेशचन्द्र झाद्वारा २०७५ चैत ४ मा आन्तरिक टिप्पणी गरिएको थियो । उद्योगमा २०७४ चैत १४ देखि ट्रंक लाइन जडान भएको भनिए पनि २०७५ वैशाख मसान्तसम्मको बक्यौता माग गरिएको तर, उक्त अवधिमा उद्योगमा निरन्तर विद्युत् आपूर्ति नभएको र प्राधिकरण वितरण केन्द्रकै निर्देशन अनुसार उद्योगलाई तोकिएको समयमा मात्र सञ्चालन गर्न अनुमति दिइएको थियो ।
भौतिक रूपमा ट्रंक लाइनको परिभाषामा पर्न गएको देखिए पनि प्रिमियम दरमा महसुल लिन ६ घण्टाभन्दा बढी लोडसेडिङ र कम्तीमा २० घण्टाभन्दा बढी निरन्तर विद्युत् आपूर्ति हुनुपर्ने कानुनी मापदण्ड भएपनि उक्त अवधिमा ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको र उद्योगहरूले २० घण्टा निरन्तर विद्युत् आपूर्ति नपाएको उद्योगीहरुको दाबी छ ।
उद्योगीहरुले विवादको अन्त्य र न्यायका लागि वक्यौता पुनरावलोकन समितिमा निवेदन दिएका थिए । तर, कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि १० असोजमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता पुनरावलोकन समिति बदर गरेको थियो ।