नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल र समूहहरू एकीकृत भई नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको घोषणा गरिएको छ । बुधबार भृकुटीमण्डपमा विशेष एकता सभाको आयोजना गरि ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो । त्यस्तै यो पार्टीको चुनाव चिन्ह ‘तारा’ प्रस्ताव गरिएको छ ।
एकतामा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, र नेकपा साम्यवादी रहेका छन् । त्यस्तै, गोपाल किराँती पनि माओवादीसँग मिसिएर नयाँ एकतामा सहभागी भएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विचको एकतामा दुबै दलमा सबै नेताहरु एकताको पक्षमा देखिएनन् । माओवादी केन्द्रका जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू एकताबाट अलग भएका छन् । त्यस्तै, एकीकृत समाजवादीका घनश्याम भूसाल र रामकुमारी झाँक्री लगायतका नेताहरू पनि एकता प्रक्रियामा सहभागी भएनन् ।
एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् ।
यो पार्टीको अध्यक्षमा साविक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल रहनु भएको छ । त्यस्तै दोस्रो वरियतामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, तेस्रो वरियतामा झलनाथ खनाल, चौथो वरियतामा बामदेव गौतम र पाँचौं वरियतामा नारायणकाजी श्रेष्ठलाई राखिएको छ ।