नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) बुटवलमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । बुटवलमा शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः काजिमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा रविन्द्र कक्षपति, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा बिक्रमकुमार राजभण्डारी, कोषाध्यक्षमा तुप्ला लाकौल, सहसचिवमा, हिराकुमारी श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा दिल्लीकुमार श्रेष्ठ, अजय श्रेष्ठ, निर्मला श्रेष्ठ, दिब्य राजभण्डारी, समा श्रेष्ठ, दिपककुमार श्रेष्ठ, आनन्द श्रेष्ठ, सिता श्रेष्ठ, दिपक श्रेष्ठ र सम्झना श्रेष्ठ, सजनकुमार श्रेष्ठलाई चयन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मुलुक विविध जातजाती, भाषाभाषीहरुको साझा फूलवारी भएकाले उनीहरुको भाषा तथा धार्मिक, सांस्कृतिक पहिचानको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताउनु भयो । यही जिम्मेवारी बोध गरेर बुटवल उपमहानगरपालिकाले ४ भाषामा नागरिक वडापत्र राखिएको बताउँदै नयाँ पुस्तालाई उनीहरुको मातृ भाषा सिकाउनका लागि तालिमको समेत व्यव्थापन गरिने बताउनु भयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष काजिमान श्रेष्ठले नेवाः पुच बुटवलले मोफसलमै बसेर पनि राष्ट्रिय तहमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताउँदै सबै सदस्य, पदाधिकारी, सल्लाहकार तथा सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सापारु (गाईजात्रा) मा सरकारी बिदा लागि निरन्तर पहल गर्दै आएको र २०७८ सालदेखि संघीय सरकारले नेवाः समुदायका लागि बिदा लागू गरेको उल्लेख गर्नुभयो । यस वर्ष बुटवल उपमहानगरपालिकाले पनि स्थानीय बिदा प्रदान गरेकोमा उहाले धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँका अनुसार बुटवल फूलबारीमा निर्माणाधीन शंखधर साख्वा वाटिकाको कार्य अन्तिम चरणमा पुगेको छ । संस्थाले सांस्कृतिक तथा भौतिक संरचनाको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उहाँले अक्षयकोषमा रकम वृद्धि, क्रियापुत्री भवनमा सुविधा विस्तार, कल्याण कोषको संरचनागत सुधार, कार्यालयमा एलुमिनियम पार्टिसन र लालपर्जा प्रक्रिया पूरा, आयकर चुक्ता प्रमाणपत्र प्राप्त, तामनगर निर्माणाधीन मन्दिरलाई सहयोग, नेपाल सम्बत स्वागत कार्यक्रम सफल, भैरव, भिमसेन, गाईजात्रा, होली, योमरी, पारिवारिक बनभोज लगायतका कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै संयुक्त सञ्जाल गठन, कार्यालय परिसर तथा ग्राउन्डमा टायल एवं लकटायल निर्माण, होम–कुण्ड स्थल निर्माण, शंखधर साख्वा वाटिकाको बाँकी काम, अक्षयकोष विस्तार, सदस्यता तथा शाखा वृद्धि, सांस्कृतिक तालिम तथा प्रशिक्षण, कल्याण कोष सुदृढीकरण, आदिवासी जनजाति महासंघमा संस्थाको भूमिका विस्तार, शंखधर साख्वा फाउण्डेशन गठन लगायतका आगामी योजना रहेको जानकारी गराउनु भयो ।
त्यसै अवसरमा संस्थामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान तथा दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।