सरकारकाे क्रियाकलाप चुनाव गर्नेतर्फ छैन : महासचिव पोखरेल

1.3K

सरकारकाे क्रियाकलाप चुनाव गर्नेतर्फ छैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ नभएको बताउँदै नहुने निर्वाचनको पार्टीले पैरवी नगर्ने बताउनु भएकाे छ ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले चुनावबाट नभाग्ने बताउँदै अहिले चुनौतीपूर्ण क्षणको निकास प्रतिनिधिसभा पुनस्थापना भएको पनि बताउनु भयाे ।
केही राजनीतिक दलले जेनजी रिसाउलान कि भनेर चुनाव भनेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘यो सरकार चुनावका लागि होइन, निर्वाचन गराउँदा पनि गराउँदैन । २०५९ जस्तो वैधता नपाउने चुनावको अर्थ छैन ।’ चुनावको महत्वपूर्ण शक्ति प्रहरीको हतियार खोसिएका छन् । ‘कैदीबन्दी र प्रहरीका लुटिएका हटियारले समाज त्रसित छ । जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ । प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव हुन सम्भव देखिदैन ।’
राजनीतिक दलसँग संवाद र छलफल गर्न नचाहनुले पनि चुनाव गराउन अहिलको सरकार चाहदैन भन्ने स्पष्ट रहेको पोखरेलको भनाइ थियो ।  देशलाई संवैधानिक बाटोमा हिडाउनको लागि प्रतिनिधिसभा पुनसंस्थापना, संविधान संशोधन गरेर युवाका माग संवोधन गरी अर्ली चुनावमा जान सकिने पोखरेलको धारणा छ । उहाँले संसद पुनस्थापना सडक र अदालत दुवैले गर्न सक्ने इतिहास रहेको बताउँदै
संसद पुनस्थापनाको माग लिएर एमाले आन्दोलनमा गएपछि पार्टीमा उत्साह देखिएको दावी गर्नुभयाे । उहाँले जेनजीका नाममा गएको भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । दुई दिनको हिंसात्मक आन्दोलनले मुलुक दशकौ पछाडि फर्किएको बताउदै पोखरेलले आन्दोलनमा अराजकताबादी र बाहय शक्तिले भडकाएको बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘डिप स्टेट फर्मुलाबाट देशमा सो घटना घटाइएको छ । डिप स्टेटका हर्ताकता आन्दोलनको अगुवाई गरेकाले यसबाट प्रष्ट हुन्छ आन्दोलन कहा र कोबाट परिचालित थियो भन्ने ।’