नेपाल जेसीजमा चुनावी सरगर्मी : अध्यक्षमा ७ जनाको उम्मेद्वारी

1.3K

नेपाल जेसीजमा चुनावी सरगर्मी : अध्यक्षमा ७ जनाको उम्मेद्वारी

नेपाल जेसीजमा चुनावी सरगर्मी बढेको छ । एक व्यक्ति एक पदको नीति लिएको नेपाल जेसीजको आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी पुसको ४, ५, ६ र ७ गते मधेश प्रदेशको जनकपुरमा तय गरिएको नेपाल जेसीजको ५२ औं महाधिवेशनबाट नेतृत्वमा आउन रुपन्देहीको देवदह नगरपालिकामा स्थापित देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
त्यस्तैगरी अध्यक्ष पदमै नगरकोट जेसीजबाट राजाराम गौतम, भक्तपुर जेसीजबाट रश्मी सिल्पकार, झापाको विर्तामोड जेसीजबाट भिम कुँवर, इटहरी जेसीजका सुनिल तिमिल्सिना, नवलपुर जेसीजका गणेश सापकोटा र रामेछाप जेसीजका जीवन कार्कीले उम्मेदवारी दिनुभएको नेपाल जेसीजले जनाएको छ ।
नेपाल जेसीजमा १ अध्यक्ष ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचन हुने र त्यसबाहेक कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ ।
४ कार्यकारिणी उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने १२ राष्ट्रिय उपाध्यक्षका लागि हालसम्म १६ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष र कार्यकारिणी उपाध्यक्षको लागि उम्मेदवारी दर्ता बन्द भईसकेको छ भने निर्वाचित हुने संख्याको डेढ गुणा उम्मेदवारी पर्नुपर्ने प्रावधानका कारण राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ताको समय कायमै रहेको बुझिएको छ ।
नेपाल जेसीज अन्तरगत ४ वटा क्षेत्र रहेका छन् । जसमा १८४ शाखा रहेका छन् । ती शाखाबाट १ हजार ४४१ मत रहेको नेपाल जेसीजले जनाएको छ ।