गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले टिमुरखर्ककी स्वर्गीय बाटुला दमाईको काजकिरियाको लागि आर्थिक सहयोग गर्नुभएको हो ।
मदाने गाउँपालिका–७ टिमुरखर्ककी स्व. बाटुला दामाईको ८२ वर्षको उमेरमा यहि कात्तिक २४ गते निधन भएको थियो । विपन्न परिवारकी बाटुलाको निधन भएपनि काजकिरियाको लागि अध्यक्ष कुँवरले घरमै पुगेर छोराहरु टिकाबहादुर दामाइ र लालबहादुर दामाइलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक तथा सामाजिक रूपमा कमजोर रहेको दामाई परिवारलाई परम्परागत काजकिरिया गर्नसमेत कठिनाइ परेको जानकारी पाएपछि मदानेका अध्यक्ष कुँवर शोकसन्तप्त परिवारलाई समवेदना सहित उक्त सहयोग गर्नुभएको हो ।
अध्यक्ष कुवरले संकटको घडीमा कसैलाई एक्लो महसुस नहोस् भनेर गाउँपालिकाले आफ्नो भूमिकालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको हो ।
नेपाली काँग्रेसका पालिका सभापति समेत रहनुभएका कुवँरले पालिका अध्यक्षमा निर्वाचित भएदेखि आफूले पालिकाबाट प्राप्त गर्ने सुविधावापतको रकम पार्टी खातामा जाने व्यवस्था मिलाउनु भएको छ । त्यसरी आएको रकम पार्टी समितिको निर्णयमा खर्च गर्ने गरिएको उहाँले बताउनु भयो ।