सरकारी सेवामा सफल विद्यार्थीलाई बुटवल कम्प्युटर ईन्ष्टिच्यूटद्वारा सम्मान

1.3K

सरकारी सेवामा सफल विद्यार्थीलाई बुटवल कम्प्युटर ईन्ष्टिच्यूटद्वारा सम्मान

बुटवल कम्प्युटर इन्स्टिच्युट (बिसिआई) ले सुरक्षा सेवा तयारी कक्षामा सहभागी भई नेपाल प्रहरी र नेपाली सेनामा सफल भएका विद्यार्थीहरूलाई मंगलबार सम्मान गरेको छ । बुटवल–३ गोलपार्कस्थित बिसिआईको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रहरीमा सफल ५४ जना र नेपाली सेनामा सफल ६५ जना गरी कुल ११९ जना विद्यार्थीलाई टीका लगाएर मायाको चिनो सहित सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व प्रहरी नायव उपरीक्षक मेघराज कडेलले सुरक्षा सेवा केवल जागिर नभई राष्ट्र र जनताप्रतिको कर्तव्य भएको बताउँदै कर्तव्यमा नचुक्न आग्रह गर्नुभयो । “अब तपाईंहरूको काँधमा नयाँ जिम्मेवारी थपिएको छ । जनताले तपाईँहरूबाट सुरक्षा, इमान्दारिता र विश्वासको अपेक्षा गर्छन् ।” उहाँले भन्नुभयो–“तपाईहरु त्यसबाट विमुख नहुनुहोला ।” साढे ३० वर्ष लामो प्रहरी सेवा अनुभव सुनाउँदै उहाँले आत्मबल, अनुशासन र निरन्तर मेहनतले सफलताको शिखरमा पुग्न सकिने बताउनु भयो ।
त्यसैगरी बिसिआईका प्रवन्ध निर्देशक दीपक केसीले सुरक्षा सेवामा संलग्न हुन चाहने युवाका लागि बिसिआई ‘विश्वसनीय गन्तव्य’ बनेको बताउनु भयो । उहाँले भन्नुभयो–“हाम्रो उद्देश्य विद्यार्थीलाई सफल मात्र बनाउनु होइन, उनीहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रेमी नागरिकका रूपमा तयार पार्नु हो । आगामी दिनमा प्रशिक्षणका संरचनालाई अझ आधुनिक र प्रभावकारी बनाउँदै लैजानेछौँ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, शिक्षक जीवन पाण्डे र पूर्व प्रहरी निरीक्षक हेमलाल बेल्बासेले अनुशासन, कडा परिश्रम र सेवाभावलाई सुरक्षासेवाको आधारभूत गुण भन्दै नयाँ पुस्ताले जनताको मन जित्ने सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली सेनामा प्रवेश पाएका आशिष परियारले प्रशिक्षणले आफूहरूलाई शारीरिक, मानसिक तथा व्यवसायिक रूपमा सक्षम बनाएको बताउनु भयो । नेपाल प्रहरीतर्फबाट जुना नेपाली र नेपाली सेनाका सन्तोष नेपालीले बिसिआईप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर मार्गदर्शन, मेहनत र साथले आफ्नो सफलता सम्भव भएको बताउनु भयो ।
२०७८ सालदेखी सुरक्षा सेवा तर्फ तयारी कक्षा सञ्चालन गरेको बिसिआईले २०८२ सालसम्म आउदा हजारौ विद्यार्थी सुरक्षामा प्रवेश गराउन सफल भएको छ । २०८२ सालमा मात्रै २ सय भन्दा बढी विद्यार्थी सुरक्षा सेवामा प्रवेश भएको विसिआईले जनाएको छ ।