आगामी पुसमा बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ३ देखि १७ गतेसम्म बुटवल मण्डप औद्योगिक प्रदर्शनीय स्थलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ गर्न लागिएको हो ।
‘मेक इन नेपाल’ अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित संघले प्रदर्शनीलाई परिष्कृत, परिमार्जित र उपभोक्ता–दर्शकमैत्री बनाउने तयारी गरिएको प्रदर्शनीका बारेमा जानकारी गराउन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष एर्व प्रदर्शनी मुल समितिका संयोजक कृष्ण पराजुलीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नु र स्वदेशी उत्पादनलाई बजारसँग जोड्नु हो । “देशको आर्थिक विकासको मेरुदण्ड जस्तै रहेको औद्योगिक व्यवसाय संरक्षण तथा विकासका लागि स्वदेशी उत्पादनको प्रयोगमा सबैले प्राथमिकता दिन जरुरी छ । प्रदर्शनीले नयाँ उद्योग स्थापनामा प्रेरणा दिनका साथै औद्योगिक सम्भावना पहिचानमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” उहाँले बताउनु भयो ।
रुपन्देही उद्योग संघले २०४५ सालमा पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीलाई यस वर्ष नयाँ स्वरूपमा विस्तार गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ यस वर्षका संरक्षक रहनेछन् ।प्रदर्शनीमा ५ सय स्टल रहनेछन् भने ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि तथा कृषिजन्य उत्पादन, रेस्टुरेन्ट, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला तथा जुत्ता, खाद्यान्न, आईटी तथा प्रविधि लगायतका उत्पादन तथा सेवा प्रदर्शित गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
त्यस्तै प्रदर्शनीलाई आकर्षक बनाउन विविध सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम पनि हुनेछन् । लोकदोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता, ‘प्रदर्शनी आइडल’, टिकटक प्रमोसन कम्पिटिसन सहितका प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिने छ । साथै नेपालका ख्यातिप्राप्त कलाकार, हास्य–व्यङ्ग्य प्रस्तुति, स्थानीय सांस्कृतिक कार्यक्रम पनि हुनेछन् ।
प्रदर्शनी सफल बनाउन ४०१ सदस्यीय मुल समिति, ४१ सदस्यीय विशेष सल्लाहकार समिति, २१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा मूल्यांकन समिति, २० वटा विषयगत उपसमिति गठन गरि तयारीको काम सुरु गरिएको छ ।