रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दिगो विकास र वातावरण संरक्षणका लागि काम गर्ने विश्वव्यापी सञ्जाल आई.सि.एल.ई.आई.को पूर्ण सदस्यता प्राप्त गरेको छ । जर्मनीमा मुख्यालय रहेको यस नेटवर्कमा विश्वभरका २ हजार ५ सय भन्दा बढी सहर तथा स्थानीय सरकार आवद्ध छन् ।
आईसीएलईआईले गत कार्तिक २६ गते तिलोत्तमालाई सदस्यता दिने निर्णय गरेको थियो भने त्यसको प्रमाणपत्र हालै प्राप्त गरिएको नगरपालिकाले जनाएको छ । प्रमाणपत्रमा संस्थाका अध्यक्ष क्याट्रिन स्टजर्नफेल्ड्ट जम्मेह र सचिव भेन विगेनका हस्ताक्षर छन् ।
नगर प्रमुख रामकृष्ण खाणका अनुसार सदस्यतापछि तिलोत्तमालाई शून्य–उत्सर्जन, प्रकृतिमा आधारित समाधान, जलवायु अनुकूलन, जोखिम मूल्यांकन, तथा दिगो विकास–सम्बन्धी तालिम, कार्यक्रम र अन्तर्राष्ट्रिय परियोजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार यसले नगरपालिकाले अघि बढाइरहेको फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन, पर्यावरणीय सुधार तथा दिगो शहरी विकासका प्रयासमा थप टेवा पुर्याउनेछ ।
यससँगै तिलोत्तमा एसियाली सामाजिक रूपमा समावेशी लचिलोपन (एस.आई.आर.ए) परियोजना सञ्चालनका लागि योग्य पनि बनेको छ । नगरपालिका यसअघि नै स्पेनको यु.सि.एल.जी., साउथ कोरियाको सिटि नेट, र जापानको मेयरस् फर पीसमा सदस्य बनीसकेको छ ।
यससँगै तिलोत्तमा चार अन्तर्राष्ट्रिय फोरमको सदस्यता प्राप्त गर्ने यस क्षेत्रकै पहिलो नगरपालिका बनेको छ।