आगामी फागुन २१ गते तोकिएको प्रतिनीधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस, एमाले सहितका ६६ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । प्रतिनीधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न यहि मंसिर १० गते (भोली) सम्मको मिति तोकिएको छ । दर्ता भएका दलले मात्रै फागुन २१ को निर्वाचनमा भाग लिन पाउने छन् ।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट दल दर्ता शुरु गरिएको थियो । नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबारसम्म दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका पार्टीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यका निर्वाचनमा भाग लिन पाउनेछन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ ।
त्यसपछि पुनः उम्मेदवारको नामावली प्रकाशन गरिने छ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।