आगामी फागनु २१ गतेका लागि तय गरिएको प्रतिनीधि सभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको एमालेले प्रतिनीधि सभा पुनःस्थापनाको समेत माग राखेर सर्बोच्चमा रिट निवेदन पेश गरेको छ ।
विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनःस्र्थापनाको मागसहितको रिट निवेदन दिएको हो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई भदौ २७ मा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
त्यसरी प्रधानमन्त्रीमा नियुक्त कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गर्नुभएको थियो । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको छ ।
‘प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैरसंवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाऊँ, प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको सपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाऊँ । साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरूबाट भए गरेका गैरकानुनी एवं असंवैधानीक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ’, एमालेको रिट निवेदनमा माग गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनस्र्थापना सहित सो दिन कायम रहेका राज्यका सबैअंग, निकायहरू पूर्ववतरूपमा यथावत सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश गर्न, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाटराजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ बमोजिमको प्रकृया प्रारम्भ गर्नु भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गर्न र पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न पनि एमालेले माग गरेको छ ।
असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्की र निज नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधिसभा पुनस्र्थापना पश्चात स्वतः औचित्यहीन भएकाले प्रतिनिधिसभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोक्न र विषय वस्तुको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनु पर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराउन समेत एमालेले माग गरेको हो ।