नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन प्रक्रिया अघि बढाइरहेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै संघीय निर्वाचन क्षेत्रबाट प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भइसकेको छ । केही क्षेत्रहरूमा सहमति जुटिसकेकाे छ भने सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेबाट मतदानको कार्यक्रम छ । धेरैजसो क्षेत्रमा मतदानको समय दिउँसो २ बजेसम्म तोकिएको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रमार्फत खुला, महिला, दलित र युवा गरी करिब २ हजार प्रतिनिधि छानिनेछन् । त्यसैगरी प्रवास, जनसंगठन र विभागहरूबाट थप करिब १ सय प्रतिनिधि चयन हुनेछ । महाधिवेशनमा करिब २२ सय मनोनीत प्रतिनिधि सहभागी हुने अनुमान छ ।
प्रतिनिधि चयनका लागि केन्द्रीय संगठन विभागले तयार पारेको प्रस्तावलाई यसअघि नै एमाले सचिवालयले पारित गरी मातहतका कमिटीहरूमा पठाइसकेको छ । १५ कात्तिकमा बसेको सचिवालय बैठकले प्रतिनिधि छनोटका प्रति १ हजार २ सय संगठित सदस्यबाट खुला वर्गमा दुई र महिला वर्गमा एक प्रतिनिधि निर्वाचित हुने छ । छानिने प्रतिनिधिमध्ये एक जना अनिवार्य ४० वर्षभन्दा कम उमेरकाे हुनुपर्नेछ । प्रति ८ सय सदस्यमा एक महिला प्रतिनिधि चयन गरिनेछ । प्रत्येक ५ सय सदस्यमा एक जना दलित समुदायकाे प्रतिनिधि रहने छ ।
ट्रेड युनियनतर्फ प्रदेशबाट सात जना प्रतिनिधि रहनेछ भने जनसंगठनतर्फ प्रत्येक संगठनबाट पाँच जना प्रतिनिधित्व रहनेछ । महासंघीय संरचनामा रहेका जनसंगठनबाट सात–सात प्रतिनिधि रहने व्यवस्था छ । विभाग तथा कार्यालयहरूबाट एक–एक जना प्रतिनिधि रहनेछन् । प्रवास समितिका लागि महादेशअनुसार पाँच–पाँच जना प्रतिनिधि चयन गरिनेछ ।
यससँगै केन्द्रीय कमिटीका ३५४, अनुशासन आयोगका २९, लेखा आयोगका ३०, निर्वाचन आयोगका २५ र सल्लाहकार परिषद्का २५ गरी ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यहरूमध्ये प्रदेश, प्रतिनिधिसभा क्षेत्र, विशेष जिल्ला, दलित, ट्रेड युनियन, प्रवास, जनसंगठन, विभाग र कार्यालय मिलाएर झण्डै १९ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । केन्द्रीय कमिटीले अतिरिक्त पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्नसक्ने व्यवस्था पनि छ ।
गौतमका अनुसार पछिल्लो सचिवालय निर्णयसँगै केही थप प्रतिनिधि समावेश हुनसक्ने र सदस्य संख्या अनुपातसम्बन्धी केही मापदण्डमा परिमार्जन गरिएकाले प्रतिनिधि संख्या अझै बढ्न सक्नेछ ।