नेपाली काँग्रेसले १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । त्यसैगरी बैठकले वर्तमान केन्द्रीय समितिका समयावधि पनि माघ महिनासम्मको लागि थप गर्ने निर्णय गरेको छ ।
१५ औं महाधिवेशनको पारित कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन हुनेछ । पुसको १७ गते गाउँ तथा नगर अधिवेशन, पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।
त्यसैगरी क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनीधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला अधिवेशन पुसको २१ गते, एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुनेछ । पुसको २२ र २३ गते प्रदेश अधिवेशन गरिने छ भने पुसको २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गरिने छ ।