उत्पादन, लगानी तथा सेवामा केन्द्रित पब्लिक कम्पनी प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड ले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने निर्णय गर्दै तोकिएको मापदण्ड पूरा गर्ने नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो ।
कम्पनीका अनुसार पुस १ गतेभित्र दरखास्त दिन सकिनेछ । आवेदकहरूले दरखास्त फारमसँगै आफ्नो अद्यावधिक बायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर, तालिम तथा अनुभवसम्बन्धी प्रमाणपत्रहरूका प्रतिलिपि सहित सम्पर्क फोन नम्बर उल्लेख गरी पेश गर्नु पर्नेछ ।
पदपूर्ति समितिद्वारा प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि सूचित गरिने कम्पनीले जनाएको छ ।
दरखास्त दिन ४५ वर्ष पूरा भई ५५ वर्ष ननाघेकाे नेपाली नागरिक हुनु पर्नेछ ।
सिइओ पदका लागि सेवा सुविधा र पारिश्रमिक कम्पनी तथा उम्मेदवारबीचको सहमतिमा निर्धारण गरिनेछ । कम्पनीका अनुसार यस पदको लागि करसहित अधिकतम वार्षिक १.२५ करोड रुपैयाँसम्म पारिश्रमिक प्याकेज तोकिन सक्नेछ ।