बुटवलको तिनाउ नदीमा प्रस्तावित ‘सिग्नेचर पुल’ निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । सडक विभागको पुल सहकार्य कार्यालयका अनुसार भारतीय र नेपाली प्राविधिक टोलीले तयार पारेको प्रारम्भिक डिजाइन स्वीकृत भएसँगै परियोजना विस्तृत अध्ययन तथा डिजाइन अनुमोदन चरणमा प्रवेश गरेको हो ।
२०२८ सालमा पुरानो पुल भत्किएपछि बुटवल–बेलहिया मार्गतर्फ अत्यावश्यक भएको नयाँ संरचना अब आधुनिक, भूकम्प–सुरक्षित र पर्यटनमैत्री स्वरूपमा निर्माण गरिँदैछ । नेपाल–भारत प्राविधिक टोलीले यसलाई बुटवलको नयाँ पहिचान बन्न सक्ने संरचना रूपमा अघि बढाएको जनाइएको छ ।
परियोजनाको विस्तृत डिजाइन भारतको ‘कोइस्कार्स’ कम्पनीले तयार पार्दैछ। योजना अनुसार तिनाउ किनारका दुवै भागमा आकर्षक ‘चौक’ निर्माण गरिनेछ । जसमा हरियाली पार्क, पदयात्री मार्ग, साइकल–पथ, सांस्कृतिक गतिविधिका लागि खुला क्षेत्र लगायतका संरचना रहनेछन् ।
पुलसँगै नदी–किनार व्यवस्थापन, सौन्दर्यकरण तथा सार्वजनिक खुला क्षेत्र विस्तार गर्ने योजनाले बुटवललाई भौतिक तथा पर्यटन विकासको नयाँ उचाइमा पु-याउने अपेक्षा छ ।
सिग्नेचर पुलले बुटवलको ट्राफिक व्यवस्थापन सहज बनाउनेछ भने तिनाउ क्षेत्रलाई नयाँ आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । पुलमा रात्रीकालीन रंगीन बत्ती, विश्रामस्थल, दृश्यावलोकन टावर र फोटो–स्पट क्षेत्र जस्ता सुविधाहरू रहने प्रस्ताव गरिएको छ ।
भारत–नेपाल सहकार्यमा अघि बढेको यो परियोजना दक्षिण एसिया नगर विकास साझेदारी कार्यक्रमअन्तर्गत पर्छ । पुल निर्माणसँगै जलाधार संरक्षण, बगैंचा, पदमार्ग र खुला चौक विकासका काम पनि समानान्तर रूपमा अघि बढाइनेछन् ।
बुटवल, मणिग्राम र तिनाउ किनार क्षेत्रका बासिन्दाहरूले यो पुलले शहरको आधुनिक पहिचान स्थापित गर्ने, व्यापार तथा पर्यटक आगमन बढाउने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन र स्थान परीक्षण पूरा भएपछि निर्माण औपचारिक रूपमा सुरू हुने जनाइएको छ ।