प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले पनि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । विघटित प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट पेस गरिएको हो । यसअघि नेकपा एमालेले पनि संसद् विघटनविरुद्ध रिट दर्ता गरिसकेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नेपाली काँग्रेसको रिट अध्ययन भइरहेको छ ।
संसद् विघटनसम्बन्धी राजनीतिक दलका दुई र सार्वजनिक सरोकारका १७ सहित जम्मा १९ रिट सर्वोच्चमा दर्ता भई विचाराधीन छन् । एमाले र अन्य १७ रिटमा पहिलो सुनुवाइ भइसकेको छ । सर्वोच्चले सबै रिटलाई एउटै मुद्दाका रूपमा एकत्रित गरेर सुनुवाइ गर्न आदेश दिइसकेको छ ।
नेपाली काँग्रेस र एमालेबीच विघटित संसद् पुनःस्थापनाका लागि संयुक्त रिट दायर गर्ने तयारी हुँदै थियो । तर दुवै दलका सांसदहरूको संख्या जोड्दा पनि बहुमत नपुगेपछि उनीहरूले अलग–अलग रिट दर्ता गरेका हुन् ।
एमालेले ९ मंसिरमै तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालमार्फत संसद् विघटनलाई असंवैधानिक भन्दै रिट दायर गरेको थियो ।
यसैबीच, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको दुई दिनपछि नेपाली काँग्रेसले रिट पेस गरेको हो । दुवैले गत शुक्रबार महाराजगन्जमा भेटवार्ता गरेका थिए ।
२३ भदौको जेन-जी आन्दोलन र २४ भदौको प्रदर्शनपछि सुशीला कार्की नेतृत्वमा २७ भदौमा नयाँ सरकार गठन भएको थियो । शपथ लिएलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएकाे थियाे, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गर्नुभएकाे थियाे ।