रुपन्देहीको मणिग्रामस्थित राममणी बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः ध्रुवकुमार धिताल निर्वाचित हुनु भएको छ । सम्पन्न पाँचौँ क्याम्पस सभा तथा तेस्रो अधिवेशनले धिताललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकका अनुसार क्याम्पस सभाबाट सञ्चालक समितिका सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन पनि निर्विरोध निर्वाचित हुनुभएको छ । क्याम्पस सभामा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा क्याम्पस सभा सदस्य रामकृष्ण खाणले क्याम्पसको शैक्षिक उन्नतिमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उपाध्यक्ष कृष्णप्रसाद पौडेल, क्याम्पस सभा सदस्य संस्थापक क्याम्पस प्रमुख प्रा. सुदर्शन नेपाल, पूर्व सञ्चालक सुरेन्द्रकुमार वर्मा, सञ्चालक समितिका सचिव तथा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, स्ववियूका निवर्तमान सभापति शिव मल्ल, तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठक, निर्वाचन मण्डल सदस्य कुलप्रसाद लामिछाने लगायतले क्याम्पसलाई अझ सक्षम र अग्रणी बनाउन आफूहरूको निरन्तर साथ रहने बताउनु भयो ।