सरकार र जेनजीबीच लामो समयदेखि चलिरहेको वार्ता अन्ततः सहमतिमा टुंगिएकाे छ । जेनजी आन्दोलनका सहभागीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र संविधान संशोधन सुझाव आयोग गठन जस्ता महत्वपूर्ण विषयमा दुवै पक्ष सहमत भएका छन् । आजै सिंहदरबारमा औपचारिक सम्झौता हुने तयारी छ।
सम्झौतामा जेनजी आन्दोलनका मागहरूको संस्थागत दस्तावेजीकरण, आन्दोलनपछिको संक्रमणकालीन व्यवस्थापन, शहीद घोषणा, राहत, शिक्षा–स्वास्थ्य सुविधा, रोजगारी, मनोसामाजिक सहयोग र अर्थपूर्ण स्मृति स्मारक निर्माणका प्रतिबद्धता समेटिएका छन् ।
सबैभन्दा विवादित मुद्दा — संक्रमणकालीन न्याय, अधिकतम परिपूरणीय अधिकार, र टीआरसीको फ्रेम — मा पनि सहमति जुटेको छ । भदौ २३–२४ का घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोगलाई थप अधिकार दिइनेछ। छानबिनमा अत्यधिक बल प्रयोग वा गैरन्यायिक हत्या पुष्टि भए कारबाही सिफारिस गरिनेछ । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकाका मुद्दा फिर्ता लिइने र पक्राउ परेकालाई १५ दिनभित्र रिहा गरिनेछ ।
राजनीतिक सुधारको पक्षमा सम्झौताले महत्वपूर्ण मोड लिएको छ ।
सम्झौताअनुसार नेतानाममा खोलिएका ट्रस्ट, कोष, प्रतिष्ठान, परिषद्हरूको लेखाजोखा हुनेछ । त्यस्तै अवैध भेटिए खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने, सार्वजनिक संस्थामा हुने दलीय भागबन्डा अन्त्य गर्ने, नाे भाेटकाे व्यवस्था, दलभित्र अनिवार्य प्राइमरी चुनाव, दल अध्यक्षको कार्यकाल २ अवधिभन्दा बढी नहुने, विदेशमा रहेका नेपालीलाई बसेको ठाउँबाटै मतदान गर्न पाउने, उम्मेदवारका सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने र दलबीच हुने अस्वस्थ गठबन्धन रोक्न कानुन बनाउने सहमति भएकाे छ ।
त्यसैगरी संविधान संशोधन सुझाव आयोगमा स्वतन्त्र विज्ञ, युवा तथा जेनजी प्रतिनिधि रहनेछन् । आयोगले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै समुदायको अधिकतम समावेशी प्रतिनिधित्व, राष्ट्रप्रमुख–कार्यकारी प्रमुखका २ कार्यकाल सीमा, न्यायपालिकाको पूर्ण स्वतन्त्रता, डिजिटल अधिकार र अनलाइन अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा जस्ता विषयमा सुझाव दिनेछ ।
सम्झौतामा राज्यका निर्णय, खर्च र नियुक्ति सामाजिक सञ्जालमार्फत पारदर्शी बनाउने, विगतका सबै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्ने र सरकारलाई निरन्तर खबरदारी तथा सुझाव दिन जेन–जी परिषद् गठन गर्ने प्रावधान पनि छ ।
दुवै पक्षले यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएका छन् । सहमति कार्यान्वयनमा गए नेपालमा सुशासन, समावेशिता र पारदर्शितामा आधारित नयाँ राजनीतिक युग प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ ।