यो वर्षको हिउँदयाममा देशभर अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा माथि रहने तथा वर्षा कम हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको सम्भावित मौसमी अवस्था सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
विभागका अनुसार हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने अनुमान छ । सुदूरपश्चिमका पूर्वी तथा दक्षिणी क्षेत्र, कर्णालीका दक्षिणी भू–भाग, लुम्बिनीका पश्चिमी भाग, बाग्मतीका दक्षिणी क्षेत्र, मधेशका उत्तरी भाग तथा कोशी प्रदेशका मध्य र पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना उच्च छ ।
त्यसैगरी सुदूरपश्चिम र कर्णालीका मध्य भू–भाग, लुम्बिनीका मध्य तथा पूर्वी क्षेत्र, गण्डकीका पूर्वी भाग, बाग्मतीका मध्य र उत्तरी क्षेत्र, मधेशका दक्षिणी भू–भाग तथा कोशीका केही भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । बाँकी क्षेत्रहरूमा भने यो सम्भावना कम रहेको आकलन गरिएको छ ।
विभागले यस वर्ष हिउँदयाममा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा माथि रहने सम्भावना रहेको जनाएको छ । यसले समग्र हिउँद तुलनात्मक रूपमा न्यानो हुने संकेत गर्छ । यद्यपि मौसमविद्हरूले यसलाई सबै दिन समान रूपमा न्यानो हुन्छ भन्ने अर्थमा बुझ्न नहुने बताएका छन् ।
गण्डकी प्रदेशका उत्तर र दक्षिणी भू–भाग, बाग्मतीका दक्षिणी क्षेत्र तथा कोशीका उत्तरी र दक्षिण–पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना उच्च छ । कर्णालीका उत्तरी भू–भाग, लुम्बिनीका उत्तरी क्षेत्र तथा कोशी, बाग्मती र गण्डकीका अन्य भूभागमा यो सम्भावना छ । सुदूरपश्चिम, कर्णालीका दक्षिण–पश्चिम क्षेत्र तथा लुम्बिनीका पश्चिमी भूभागमा भने कम सम्भावना रहेको छ ।
न्यूनतम तापक्रम पनि देशका अधिकांश भूभागमा औसतभन्दा माथि रहने अनुमान गरिएको छ । सुदूरपश्चिमका उत्तर तथा दक्षिण–पश्चिम क्षेत्र, कर्णालीका मध्य र उत्तरी भूभाग, लुम्बिनीका अधिकांश भाग, बाग्मतीका उत्तर–पूर्व र दक्षिण–पश्चिम क्षेत्र, मधेशका धेरैजसो भूभाग तथा कोशीका दक्षिण र उत्तर–पश्चिम क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना उच्च रहेको विभागले जनाएको छ । अन्य क्षेत्रहरूमा भने यो सम्भावना कम छ ।