नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवा निवास जानुभएकाे हाे ।
भेटमा नेता कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले क्रमसंख्या उल्लेख नभएका फारम जिल्ला–जिल्लामा पठाएको विषय उठाउँदै यसले पार्टीभित्र देशव्यापी जटिल समस्या सिर्जना गरेको बताउनु भयाे । उहाँले विना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवासँग आग्रह गर्नुभयाे । विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने कोइरालाको तर्क थियो ।
त्यस्तै, अनुशासन समितिले सिफारिस गरेको कारबाहीप्रति ध्यानाकर्षण गराउँदै कोइरालाले सबै प्रकारका कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आगामी आम निर्वाचनमा सक्रिय भएर लाग्न निर्देशन दिनुपर्ने धारणा राख्नुभयाे । २०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।