प्राथमिकतामा नपर्दा जनस्वास्थ्यमा चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग

1.3K

प्राथमिकतामा नपर्दा जनस्वास्थ्यमा चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न नसक्दा बेला–बेला गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखापर्ने गरेको सरोकारवालाहरूले बताएका छन् । जलवायु परिवर्तन र सरकारी बेवास्ताकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएका कालाजार, औलो लगायतका रोगहरू पुनः देखिन थालेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना अन्तर्गत बुटवलमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकारहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराउनुभयो । उहाँले समयमै रोग पहिचान, उपचार सेवामा पहुँच विस्तार तथा प्रभावकारी जनचेतना कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र कुमार पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, हाल सञ्चालनमा रहेका कार्यक्रम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराउनु भयाे । यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो । संघीय सरकारले विनियोजन गरेको बजेटबाट मात्र कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय सरकारको पनि सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेयले संस्थाले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
त्यसैगरी परियोजनाका टेक्निकल अधिकृत अपार शर्माले परियोजनाअन्तर्गत हालसम्म भएका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष अश्मीना पाण्डेले स्वास्थ्य कार्यालय तथा विभिन्न परियोजनाहरूले आफ्ना गतिविधि र उपलब्धिबारे सञ्चारकर्मीलाई नियमित जानकारी गराउनुपर्ने बताउनुभयो । सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना बढ्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रका कार्यक्रम सफल बनाउन सञ्चारकर्मी सधैं सहकार्यका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा तथ्यपरक समाचार सम्प्रेषण, जनचेतनामूलक सामग्री प्रकाशन तथा समुदायसम्म सन्देश पुर्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवर्द्धन विषयविज्ञ तुल्सीराम खनालले गर्नुभएको थियो ।

उपेक्षित उष्णप्रदेशीय रोग के हुन् ?

उपेक्षित रोग भन्नाले सामान्यतया सबै तहबाट बेवास्ता गरिएका, प्रायः उष्ण तथा उप–उष्ण क्षेत्रमा देखिने रोगहरूलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा समावेश गरेको छ । जसले विश्वभर एक अर्बभन्दा बढी मानिसलाई असर गर्ने तथ्याङ्क छ ।
चिकित्सकहरूका अनुसार यी रोग विभिन्न भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्छन् । सरसफाइको कमी, सङ्क्रामक कीट, घरपालुवा तथा वन्यजनावरसँग नजिकको सम्पर्क र गरिबीको रेखामुनि रहेका समुदाय बढी जोखिममा रहने गर्छन् ।
नेपालमा पाइने उपेक्षित रोगहरूमा डेंगु, चिकेनगुनिया, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, न्युरोस्टाइसर्कोसिस, कालाजार, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस तथा अन्य डीप माइक्रोसेस रहेका छन् ।

उपेक्षित रोगहरूको वर्तमान अवस्था

कालाजार : पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या करिब ९० प्रतिशतले घटेको छ । सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल निवारणको लक्ष्यतर्फ उन्मुख छ ।
कुष्ठरोग : सन् २०१० मा राष्ट्रिय स्तरबाट जनस्वास्थ्य समस्याको रूपमा निवारण घोषणा भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रति १० हजार जनसङ्ख्यामा प्रिभ्यालेन्स दर ०.९२ रहेको र २ हजार ४७२ नयाँ बिरामी पहिचान भएका थिए ।
हात्तीपाइले : ६४ जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन भई ५३ जिल्लामा औषधि सेवन कार्यक्रम बन्द गरिसकिएको छ । हालसम्म ४७ हजार ८८६ जनामा शारीरिक समस्या देखिएको तथ्याङ्क छ ।
डेंगु : सन् २००४ मा पहिलो पटक पुष्टि भएपछि प्रत्येक वर्ष सङ्क्रमण बढ्दो क्रममा छ । सन् २०२४ मा ७६ जिल्लाबाट डेंगुका ४१ हजार ८६५ केस पुष्टि भई १५ जनाको मृत्यु भएको थियो ।
रेबिज : नेपालले कुकुरको टोकाइबाट हुने रेबिज सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा जनावरको टोकाइबाट अस्पताल पुग्ने बिरामीको सङ्ख्या २ लाख १८ हजार ४८२ रहेको छ ।
सर्पदंश : आर्थिक वर्ष २०८१/८२ मा ८ हजार १८१ सर्पदंशका घटना पुष्टि भएका छन् । देशभर ११० केन्द्रबाट सर्पदंशको उपचार सेवा उपलब्ध छ ।
माटोबाट सर्ने जुका : आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । सरकारले यसको नियन्त्रणका लागि कार्यक्रम अघि बढाएको छ ।
ट्रकोमा : सरकारले ट्रकोमालाई जनस्वास्थ्य समस्याको रूपमा निवारण गरिसकेको छ ।