आजदेखि विक्रम संवत् २०८३ सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा देशभर हर्षोल्लासका साथ मनाइँदैछ । वैशाख १ गतेका दिन बिहानैदेखि शुभकामना आदानप्रदान, भेटघाट तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत नयाँ वर्ष स्वागत गरिएको छ ।
नेपालमा वैशाख १ गतेलाई परम्परादेखि नै नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहिआएको छ । विश्वका विभिन्न देशमा फरक-फरक मितिमा नयाँ वर्ष मनाइने भए पनि विक्रम संवत् सबैभन्दा प्राचीन संवत् मानिन्छ, जसको आज पहिलो दिन हो ।
आजको दिनलाई वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिका रूपमा पनि चिनिन्छ । याे दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने खगोलीय परिवर्तन हुने भएकाले विक्रम संवत् सूर्यको गतिसँग सम्बन्धित वैज्ञानिक आधारमा आधारित छ ।
नयाँ वर्षको पहिलो दिन मानिसहरूले अघिल्लो वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परा पनि छ । बिहानै स्नान गर्ने, घर–आँगन सरसफाइ गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने, मीठा परिकार खाने तथा आफन्त र साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने गरिन्छ ।
नयाँ वर्षको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूले विविध कार्यक्रम आयोजना गरी उत्सव मनाइरहेका छन् ।