अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा ‘बुटवल सडक खाना महोत्सव’ आयोजना गर्ने भएको छ । संघले अंग्रेजी नयाँ वर्ष, ल्होसार तथा पुस १५ लाई समेत समेटेर यही पुस १५, १६ र १७ गते महोत्सव गर्न लागेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने चाेकदेखि बसपार्क चोकसम्मको कालिका सडक क्षेत्रमा आयोजना हुने महोत्सवमा करिब ६० वटा खाना स्टल रहनेछन् । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गरिने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातीय समुदायका पहिचान झल्काउने परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने संघका महासचिव तथा महोत्सवका सदस्य सचिव केशव कंडेलले जानकारी दिनुभयो ।
महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष माधवकुमार खनालको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति तथा ३५ वटा विषयगत उपसमिति गठन गरिएको छ । ती उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी अनुसार तयारीका कामहरू गरिरहेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ तथा वितरण एवं स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाका अनुसार तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजाति र समुदायसँग सम्बन्धित परिकारसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।
महोत्सवको पहिलो दिन झाँकीसहित जनचेतनामूलक र्याली आयोजना गरिनेछ । साथै, हरेक दिन साँझ ६ बजेदेखि राति १२ बजेसम्म महोत्सव सञ्चालन गरिने जनाइएको छ ।
संघका अध्यक्ष तथा महोत्सव मूल समिति संयोजक माधवकुमार खनालले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिए पनि ल्होसार र पुस १५ को संयोगले महोत्सव अझ विशेष बन्ने बताउनुभयो । उहाँका अनुसार ती पर्वलाई ध्यानमा राखेर विशेष कार्यक्रमहरू समावेश गरिनेछ ।

स्थानीय खानाका परिकारको स्वाद, कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन र बुटवलको पर्यटन विकासलाई मुख्य उद्देश्यका रूपमा राखिएको छ । पर्यटकीय विश्रामस्थलका रूपमा विकास हुँदै गएको बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले आसपासका पर्यटकीय स्थलहरूको समेत प्रचारप्रसार गरिनेछ ।
यसका लागि महोत्सव स्थलमा पर्यटकीय गन्तव्यलाई समेटेर सेल्फी जोन निर्माण गरिनेछ भने पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी पनि आयोजना गरिने संघका उपाध्यक्ष तथा गाेष्ठी सेमिनार उपसमिति संयाेजक राेमाकान्त पाण्डेले जानकारी गराउनु भयाे । सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सव अवधिभर नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ भने अन्तिम दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिने संघले जनाएको छ ।