नियामक निकाय कमजोर हुदा विषादीको प्रयाेग मनपरी : मानव स्वास्थ्य जोखिममा

1.3K

नियामक निकाय कमजोर हुदा विषादीको प्रयाेग मनपरी : मानव स्वास्थ्य जोखिममा

फलफूल र तरकारीमा अनियन्त्रित रूपमा बढ्दो किटनाशक विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यलाई गम्भीर जोखिममा पारिरहेको सरोकारवालाले बताएका छन् । नियामक निकायको कमजोर निगरानीका कारण विषादीको प्रयोग अनियन्त्रित भइरहेको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमा देखिन थालेको उनीहरूको भनाइ छ ।
रुपन्देही उद्योग संघद्वारा आयोजित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को एक कार्यशालामा विज्ञहरूले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार, विषादीको प्रयोगले तत्काल उत्पादनमा वृद्धि ल्याउन सक्छ, तर दीर्घकालमा यसले गम्भीर स्वास्थ्य समस्या, वातावरणीय असन्तुलन र किसानलाई रसायनमा निर्भर बनाउने खतरा सिर्जना गरिरहेको छ ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमा कृषकहरूलाई विषादी प्रयोगको सही जानकारी नदिँदा, किटनाशकलाई औषधि सम्झेर प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलन र बालबालिकाको विकासमा समेत असर पर्ने तथ्यहरू सार्वजनिक गरिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षक अधिकृत, मनोज पोखरेलले निरन्तर एउटै विषादीकाे प्रयोगले कीरामा प्रतिरोध क्षमता विकास गर्ने र अझ महँगा र कडा रसायन प्रयोग गर्न बाध्य बनाउने बताउनु भयाे ।  उहाँले माटोमा रहेका लाभदायी सूक्ष्मजीव नष्ट हुँदा माटोको उर्वराशक्ति घट्छ र बालीको प्राकृतिक प्रतिरोध क्षमता कमजोर बनाउने बताउनु भयाे ।
कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत, मिलन गैरेका अनुसार किटनाशकको असर केवल किसान र मजदुरसम्म सीमित छैन, यो उपभोक्तामा पनि प्रत्यक्ष असर पारिरहेको छ ।
अनुसन्धानकर्ता शारदा पाण्डेले किटनाशकले वातावरणमा गम्भीर असर पर्ने चेतावनी दिनुभयाे । उहाँका अनुसार, किटनाशकको अत्यधिक प्रयोगले मौरी, चरा, माछा र अन्य उपयोगी जीवहरूको नाश गरिरहेको छ जसले जैविक सन्तुलन बिगार्दै कृषि उत्पादनमा दीर्घकालीन नकारात्मक असर पुर्याउँछ ।
त्यसैगरी, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रका वरिष्ठ अधिकृत, खेमराज पन्तले किटनाशकको पूर्ण रूपमा बन्द गर्नु भन्दा पनि एकीकृत कीट व्यवस्थापन, जैविक विषादी र सही समय र मात्रामा विषादी प्रयोग राम्राे हुने बताउनु भयाे । उहाले कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरण बीच सन्तुलन कायम नगरेसम्म विषादीको लाभ अस्थायी हुने भनाई राख्नुभयाे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष, तेजकुमार पाठकले उपभोक्तामा सचेतना अभावको कारण समस्याहरू अझ बढ्ने चेतावनी दिनुभयाे । उहाँले नियामक निकायलाई नियमित अनुगमन र कडाइका साथ विषादीको प्रयोग नियन्त्रण गर्न आग्रह गर्नुभयाे ।